गुल्मी, ०७ साउन। गुल्मीको सत्यवति गाउँपालिकामा गएको पहिरोका परी ११ जनाको मृत्यु भएको छ। पहिरोमा परी केही स्थानीय बेपत्ता भएको अनुमान गरिएको छ। सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेक कसिनडाँडामा पहिरोले घर बगाउँदा ३२ वर्षिया तिलकुमारी तरामुमगर र ९ वर्षिय दर्शन तरामुमगरको शव भेटिएको स्थानीयले जनाएका छन्।
त्यस्तै, वडा नं. ४ को लिम्घामा पहिरो जाँदा ९ जनाको मृत्यु भएको स्थानीयले जनाएका छन्। उक्त पहिरोमा परी ६५ वर्षिया छल्लली विश्वकर्मा, २८ वर्षिया पम्फा विश्वकर्मा, १२ वर्षिया अञ्जली विश्वकर्मा र १० वर्षिया हेमन्त विश्वकर्माको मृत्यु भएको हो। अन्यको सनाखत हुन सकेको छैन।
सोमबार रातिदेखि भएको अबिरल वर्षाका कारण पहिरो जाँदा घरमा सुतिरहेकै अवस्थामा घरसहित उनीहरूलाई बगाएको स्थानीय जीतु तरामुमगरले जानकारी दिए। केही स्थानीय बेपत्ता रहेको हुँदा स्थानीयबाटै खोजीकार्य भइरहेको उनलेब बताए। पहिरोमा परी सत्यवती ४ की १० वर्षिया करिश्मा तरामु र १३ वर्षिया धनी तरामु घाइते भएका छन्।
उद्धार टोली घटनास्थलतर्फ गए पनि बाटो अवरोध हुँदा अहिलेसम्म घटनास्थलमा पुग्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय गुल्मीले भने उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकायका टोलीलाई घटास्थलतर्फ पठाइसकिएको जनाएको छ।