चितवन, ०८ साउन। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले चितवनको माडी क्षेत्रका विभिन्न खोलाहरूमा बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। कल्याणपुर, वनकट्टा, ठोरी र आसपास भारी बर्षा मापन भएको छ, रिउखोला, बनकट्टा बाढी मापन केन्द्रमा बहावले सतर्कता पार गरेको र बढ्दो खतरा रहेको महाशाखाले जनाएको छ।
खतराको तह पार गर्न सक्ने प्रवल संभावना रहेकाले तटिय क्षेत्रमा साँझसम्म नै सतर्क रहन अनुरोध छ। यस्तै पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरीलगायत प्रदेश नं. १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बग्ने साना नदीमा समेत उच्च बहावको संभावना रहेकोले तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले उच्च सतर्कता अपनाउँदै संभावित दुर्घटनाबाट जोगिन पूर्वतयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ।
बुधबार बिहानको मापनअनुसार देशको प्रमुख तथा मझौला नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, बागमती, कमला, पूर्वी राप्ती, बबईलगायत अन्य साना नदीहरू सबैमा बहाब बढ्दो क्रममा रहेको विभागले जनाएको छ। कोशी, कर्णाली र यसका केही सहायक नदीहरूमा जलसतह बेलुकासम्ममा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ।
कमला, बाग्मती, पश्चिम राप्ती, बबईलगायतमा बहाब बढ्दो क्रममा रहने र प्रायः सबै नदीहरूमा बहाब खतरा तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ। कन्काई, कमला, बागमती, तिनाउ, रिउखोला, पूर्वी राप्ती, पश्चिम राप्ती, मोहना, मछेलीलगायतका केही सहायक नदीहरूमा बहाब खतराको तहभन्दा माथिसमेत पुग्न सक्ने पूर्वानुमान गरिएको छ।