चितवन, ०८ साउन। भरतपुर महानगरपालिका वडा नं. १५ शान्तिचोकमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि चितवनको रत्ननगर नगरपालिकामा पनि सहयोग समिति गठन भएको छ। बुधबार भएको भेलाले रत्ननगरका मेयर नारायण वन संयोजकत्वमा सहयोग समिति गठन गरिएको हो।
जसको सह–संयोजकमा नगरपालिकाकी उप–मेयर विमला दुवाडी र सदस्य सचिवमा रत्ननगर उद्योग वाणिज्य संघको प्रतिनिधि रहने गरी समिति गठन गरिएको हो। ७५ सदस्यीय समितिमा वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल, निजी क्षेत्र, पर्यटन व्यवसायी, नागरिक समाज र पत्रकारसमेत रहेका छन्।
समितिका संयोजक एवम् रत्ननगरका मेयर वनले रंगशाला निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। नगरभित्रका राजनीतिक दल, व्यवसायी, पर्यटन व्यवसायीको सहयोग लिएर एकद्धार प्रणाली मार्फत् आर्थिक सहयोग गर्ने उनको भनाइ छ। यसअघि भरतपुर महानगरपालिकामा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा सहयोग समिति गठन भएको थियो।