ललितपुर, ०८ साउन। साउनको पहिलो सातासम्ममा मुलुकभर जम्मा ६४ प्रतिशतमात्रै धान रोपाइँ भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका अनुसार साउन ६ गतेसम्म मुलुकभर ६३.७९ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यही समयावधिमा ७७.७९ प्रतिशत रोपाइँ भएको थियो।
केन्द्रका अनुसार साउन ६ गतेसम्म प्रदेश नम्बर १ मा ५६.१३, प्रदेश नम्बर २ मा ५०.४८, प्रदेश नम्बर ३ मा ६९.१८, गण्डकी प्रदेशमा ७९.२८, प्रदेश नम्बर ५ मा ६३.४८, कर्णाली प्रदेशमा ९०.१३ र सुदूरपश्चिम प्रदेशमा ८६.६२ प्रतिशत रोपाइँ सकिएको छ। धानको सुपर जोनको रुपमा घोषणा गरिएको प्रदेश नम्बर १ को झापामा भने जम्मा ७० प्रतिशतमात्र रोपाइँ भएको छ। प्रदेश नम्बर १ का जिल्लाहरुमध्ये बढी क्षेत्रफलमा धान खेती हुने जिल्ला मोरङमा ५० र सुनसरीमा ४० प्रतिशत मात्र रोपाइँ भएको केन्द्रको तथ्यांक छ।
यस्तै, प्रदेश नम्बर २ का जिल्लाहरुमध्ये बढी क्षेत्रफलमा धानखेती हुने धनुषामा ३७, सर्लाहीमा ४५, सप्तरीमा ६५ र सिरहामा ५० प्रतिशत मात्र रोपाइँ भएको छ। प्रदेश नम्बर ३ मा उल्लेख्य धानखेतीयोग्य क्षेत्र भएको चितवनमा ७५ प्रतिशत रोपाइँ भएको छ। प्रदेश नम्बर ५ का बढी क्षेत्रफलमा धानखेती हुने तीन जिल्लामध्ये कपिलवस्तुमा ३८.४९, रुपन्देहीमा ५२.८९ र बर्दियामा ८७.८५ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ।
धानखेतीका लागि कर्णाली प्रदेश उपयुक्त छैन। साउन ६ गतेसम्म यस प्रदेशको बढी क्षेत्रफलमा धानखेती हुने जिल्लाको रुपमा रहेको सुर्खेतमा ८० र दैलेखमा ९५ प्रतिशत रोपाइँ भइसकेको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा ९२ र कञ्चनपुरमा ९५ प्रतिशत रोपाइँ सकिएको छ ।