काठमाडौँ, ०८ साउन। वर्षा नरोकिएकोले बुधबार राति देशभरका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसमविद्ले सतर्क रहन सचेत गराएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्नसक्ने सम्भावना देखिएकोले तटिय क्षेत्रमा बसोबास गर्ने साधारणले सतर्कता अपनाउनुपर्ने बताएको छ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार सुदूरपश्चिमको पहाडी र हिमाली क्षेत्रबाहेकका ठाउँमा मौसम बदली भएको छ। बादल फाटेकोले तत्काल भीषण वर्षा हुने अवस्था नदेखिए पनि, राति १२ बजेदेखि बिहान १० बजेसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए। रातिको समयमा देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ।
‘ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलामा जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिन्छ,’ उनले भने। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै छ। जसका कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ। अबको २४ घण्टामा मनसुनको न्यूनचापीय रेखा अझ दक्षिणतिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुनेछ।
बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुनेछ भने पश्चिम तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति भने देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ। शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।