काठमाडौँ, ०९ साउन। नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडीले पूर्ण क्षमतामा उडान भर्न सकेका छैनन्। युरोपियन युनियनको कालोसूचीको मारमा परेपछि वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न नसक्दा निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ।
राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको ईयूबाहेक अन्य मुलुकले पनि गरेका छन्।
दक्षिण कोरियाले युरोपियन (ईयू)कै कालोसूचीका कारण नेपालको वाइडबडीले आफ्नो मुलुकमा प्रवेश नपाएको जनाएको छ। नेपालको जहाजले दक्षिण कोरियामा उडान अनुमति नपाउनुको मुख्य कारण ईयूको कालोसूची भएको उसको भनाइ छ। कोरियन राजदूत पार्क योङ सिकले ईयूले कालोसूचीबाट नहटाएकाले निगमका वाइडबडीले सियोलमा उडान भर्न नपाएको बताए।
उनले दुई साताअघि त्रिभुवन विमानस्थलमा एउटा जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा आउँदै गरेको कोरियन एयरको विमान फर्कनुपरेको थियो। राजदूत पार्कले निगमको वाइडबडी सिओलसम्म परीक्षण उडानका लागि नेपालले पनि चासो नदेखाएको बताए। कोरियन एयरले नेपालमा वार्षिक ७२ हजार सात सय यात्रु बोक्छ। नेपालले चाहेको लामो दूरीका गन्तव्य चीनको गोन्जाओ, साउदी अरबको रियाद, दक्षिण कोरियाको सिओल, जापानको ओसाका र नारिता, अस्ट्रेलियाका सिडनी आदि हुन्।
यीमध्ये ओसाकामा उडान गर्ने प्रक्रिया सुरु भए पनि निश्चित भइसकेको छैन। २०७० मंसिरदेखि ईयूले नेपाललाई कालोसूचीमा राखेको छ। जहाजले उडान भर्न नपाउँदा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई बुझाएको विवरणअनुसार गत आर्थिक वर्ष २०७५/७६ को औसत घाटा एक अर्ब ८२ करोड रुपैयाँ भएको उल्लेख छ।
घाटै परे पनि उडेको देखाउन छोटो दूरी (कतार, युएई र दिल्ली)मा उडाएको छ। जब कि यी जहाज लामो दूरी उडान क्षमताका हुन्। अन्तर्राष्ट्रिय गन्तव्य अनुमति र व्यावसायिक योजनाबिनै जहाज ल्याएका कारण यस्तो घाटा भएको हो। निगमले तयार पारेको तीनवर्षे कार्ययोजनामै चालू आव २०७६/७७ मा पनि ८५ करोड रुपैयाँ र आगामी वर्षसमेत ५२ करोड रुपैयाँ घाटा हुने योजना पेस गरेको छ।