काठमाडौँ, ०९ साउन। बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बिहीबार पुनः बस्दै छ। यसअघि नियमावली विवादमा अल्झिएको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गते सुरू भएको १४ वटा एजेण्डा पेस गरेका थिए।
तर, २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गर्न नसकेकोले नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउँदैन।
मस्यौदा समितिका संयोजक रमेश लेखक एक साताका लागि देशबाहिर रहेकाले यो मुद्दा सल्टिन केही समय लाग्न सक्ने देखिएको छ। यही विषयमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसे पनि नियमावली पारित कसरी गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले आफूहरूले सभापतिलाई नियमावलीमा देखिएको असन्तुष्टिदेखि अन्य एजेन्डाबारे सुझाव दिएको बताए। अघिल्लो साता नेपाल टे«ड युनियनको अगुवाइमा शुभेच्छुक संस्थाले नियमावली सच्याउन पार्टी नेतृत्वलाई दबाब दिएका थिए। दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि असोज ७ गतेसम्म हुने कार्यक्रम सार्वजनिक भइसकेको छ। २५ वैशाखदेखि २५ जेठसम्म पहिलो चरणको अभियान चलेको थियो।
कांग्रेसले दोस्रो चरणको अभियानपूर्व पार्टीको प्रदेश, क्षेत्र र स्थानीय तहमा संरचना निर्माण गरिसक्ने जनाएको थियो। प्रदेश, क्षेत्र र स्थानीय तहमा नयाँ संरचनाअनुसार कांग्रेसको संगठन नरहेका कारण अभियान सञ्चालनमा समस्या आएको नेताहरूले जनाएका थिए। संघीय संरचनाअनुसार कांग्रेसको संगठन पुनर्गठन नगर्दा पार्टीभित्र र बाहिरबाट आलोचना हुँदै आएको छ।