चितवन, १० साउन। चितवनमा बन्न लागेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि चितवन उद्योग वाणिज्य संघले पाँच लाख ५५ हजार ५५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ। संघले घोषणा गरेकामध्ये बिहीबार आधा रकमभन्दा बढी आर्थिक सहयोग गरिएको हो।
संघका अध्यक्ष सहनलाल प्रधानले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई नगद पाँच लाख ५५ हजार ५५५ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्। राष्ट्रकै गौरवको आयोजना चितवनमा बन्न लागेको भन्दै चितवनवासीले पछिल्लो समय सकारात्मक सक्रिय सहभागीता देखाउँदै आएका छन्।
बिहीबारै चितवन जिल्ला क्रिकेट संघले पनि फाउण्डेशनलाई नगद दुई लाख ५५ हजार ५५५ रूपैयाँबराबरको चेक हस्तान्तरण गरेको छ। संघका अध्यक्ष कैलाश प्रधानले फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।
भरतपुरमा रहेको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले भने क्रिकेट मैदान निर्माण गर्दैगर्दा तत्कालका लागि आवश्यक बाथरूम सेनेटरी सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सप्लायर्सका सञ्चालक दिनेश थपलियाले आफ्नो तर्फबाट आवश्यक सामग्री सहयोग गर्ने घोषणा गरेका हुन्।
पछिल्लो समय चितवनका विभिन्न स्थानमा सहयोग समिति नै गठन गरेर आर्थिक संकलनको काम थालिएको छ। चितवनवासीले देखाएको सक्रियताले फेरि काम गर्न थप ऊर्जासमेत मिलेको धुर्मुसले बताएका छन्।