चितवन, १० साउन। चितवन ईच्छाकामना गाउँपालिका वडा नं. ४ लेवाटारस्थित पृथ्बी राजमार्गमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएको अनुमान गरिएको छ। मुग्लिनबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ६०५८ नं.को बस र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख २८९५ नं.को ट्रक एकाआपसमा ठोक्किँदा बसमा सवार यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ।
बसमा करिब ३०/३२ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। घाइतेलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। घटनास्थलमा प्रहरी निरीक्षकका कमाण्डमा टोली खटाइएको उनले बताए। प्रहरीका अनुसार दुबै सवारी साधन घट्नास्थलमै रहेका छन्।
तर, बाटो भने एक तर्फी सुचारु गरिएको छ। ट्रक चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ।