चितवन, १० असार। जिल्ला प्रहरी कार्यालय चितवनले फरार अभियुक्तलाई पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा वि.सं. २०७१ वैशाख २१ गते नौ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना फैसला सुनाएकामा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई चितवनबाट पक्राउ गरेको हो।
लुकीछिपी बसेको सूचनाको आधारमा उनलाई प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका–९ काँडाघारीबाट पक्राउ गरेकोे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
महतोले भारत बिहार मजफपुर जिल्ला मुसहरि सर्लाही गाउँ बस्ने २३ वर्षीय सञ्जयकुमार राय यादवलाई नेपालमा राम्रो जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारेर अपहरण गरेको प्रहरीले जनाएको छ। यादवलाई पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिस्थित जिराभवानी मन्दिरमा राखेर १० लाख रूपैयाँ फिरौती माग गरेको विषयमा महतोविरुद्ध वि.सं २०६७ फागुन २४ गते मुद्दा दायर भएको थियो। –रासस