काठमाडौँ, ११ साउन। काठमाडौँ बानेश्वरस्थित नेपाल विद्यापीठले सिधैँ कक्षा ११ र १२ मा कानून विषयको अध्ययन गराउने भएको छ। अन्य विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे पाठय्क्रम पढ्नुपर्छ भने स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्ष पढ्नुपर्छ। वि.सं. २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि काठमाडौँको बानेश्वरस्थित सो कलेजले ११ र १२ मै कानून विषय पढाउने तयारी थालेको हो।
कलेजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझा, वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, प्राडा नृसिंह खत्री, डा दीनमणि पोखरेललगायत पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाताले अध्यापन गराउने अध्यक्ष कृष्णहरि मैनालीले जानकारी दिए।
राजनीतिज्ञ, प्रशासकलगायत विविध क्षेत्रका विज्ञसँगको लामो छलफलका क्रममा कानून विषयको बढ्दो आवश्यकतालाई मध्यननजर गर्दै कानून पठनपाठन गर्न खोजिएको उनले बताए। मुलुक संघीयतामा प्रवेशसँगै स्थानीय तहका रूपमा रहेका गाउँपालिका तथा न्यायपालिकाले पनि न्याय सम्पादन गर्नुपर्ने अवस्था आएकोले सबै क्षेत्रमा कानून बुझ्नुपर्ने अपरिहार्यता जस्तै भएको हुँदा कक्षा ११ बाटै कानूनको पढाई सुरू गर्न लागेका उनको भनाइ छ।
नेपाल विद्यापीठले गत वैशाख महिनामा राष्ट्रिय परीक्षा बोर्डबाट कानून विषय पढाउन सम्बन्धन लिएको थियो। बोर्डले मुलुकभर २० भन्दा बढी क्याम्पसलाई कक्षा ११ र १२ मा कानून विषय पढाउन स्वीकृति दिएको छ। कक्षा ११ र १२ मा कानून विषय अध्यापन गराउन चाबहिलस्थित रिमेरा एकेडेमी, बबरमहलस्थिा नेपाल मेगा कलेज, लगनखेलस्थित पिनाकल एकेडेमी, कमलादीस्थित युनिग्लोब कलेज, बागबजारस्थित काठमाडौँ मोडल कलेज, कुपण्डोलस्थित नाइटिङ्गेल एकेडेमीलगायत कलेजले स्वीकृति लिएका छन्।
एसइई परीक्षामा न्यूततम १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले कानून पढ्न पाउनेछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असार ५ गते कक्षा ११ मा विद्यार्थी भर्नाका आधारसम्बन्धी सूचना जारी गर्दै एसइइमा १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले कानून अध्ययन गर्न सक्ने जनाएको छ।
विद्यापीठले अबको केही दिनभित्र अध्ययनको सुरूवात गर्ने तयारी थालेको छ। अहिलेसम्म २५० भन्दा बढी विद्यार्थीले आवेदन दिइसकेका छन्। ठूलो संख्यामा विद्यार्थीलाई कानून अध्यापन गराउन लक्ष्य राखेको उक्त विद्यापीठले ८०० जनासम्म विद्यार्थी पढाउन सक्ने क्षमता रहेको जनाएको छ। करिब १०० विद्यार्थीलाई छात्रवृत्ति दिने योजना रहेको अध्यक्ष मैनालीले बताए।