बाजुरा, १५ साउन। बाजुरामा महिला तथा बालबालिका हराउने क्रम वर्षेनि बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएका आधारमा प्रत्येक वर्ष महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। तीन आर्थिक वर्षमा १४५ महिला तथा बालबालिका हराएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकराज ढुङ्गानाले जानकारी दिए।
आर्थिक वर्ष २०७३/०७४ मा महिला र बालबालिका गरी ६१ जना हराएको उजुरी दर्ता भएका उनले बताए। यसैगरी ०७४/०७५ मा महिला र बालबालिका गरी २७ जना हराएका छन्। गत आर्थिक वर्षमा ०७५/०७६ असारसम्ममा बालक २० जना, बालिका जना र महिला १९ जना गरी ५७ जना हराएको उजुरी परेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए।
हराएका महिला र बालबालिका आव ०७३/०७४ मा ३२ जना र ०७४/०७५ मा १३ जना रहेका छन्। घरबाट हराएका महिला तथा बालबालिकामध्ये खोजी कार्य जारी रहेका छन्। खोज तलासमा रहेका आव ०७३/०७४ मा २७ जना महिला र बालबालिका, ०७४/०७५ मा १४ जना व्यक्ति महिला र बालबालिका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। यस्तै आर्थिक वर्ष ०७५/०७६ मा हराएका महिला तथा बालबालिकामध्येका खोजी कार्यबाट फेला परेका बालक १९ जना, बालिका १५ जना र महिला आठ जना गरी ४२ जना भेटिएका छन्।
आफन्तसँग बुझाएका यस्तै सोही वर्ष खोज तलास प्रक्रियामा रहेका एक बालक, तीन बालिका र ११ महिला गरी १५ जनाको खोजी कार्य भइरहेको प्रहरी स्रोतको दाबी छ। जिल्ला प्रहरी कार्यालय बाजुरा मातहतका इलाका र प्रहरी चौकीमा उजुरी नआएका तर बेवारिसे अवस्थामा फेला पारिएका महिला तथा बालबालिकामध्ये बालक चार जना र बालिका चार जना गरी सात जना रहेका छन्।
प्रहरीले बेपत्ता भएका र सम्पर्कमा नआएका महिला तथा बालबालिकाको खोजी कार्यका लागि प्रहरीले विभिन्न माध्यमबाट खोजी कार्य जारी राखेको छ। आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५ मा हराएका महिला र बालबालिकामध्येका उनीहरूका अभिभावकले बालक, बालिका र श्रीमती हराएको उजुरी दिएको र खोजी कार्य गर्दा नभेटिए पनि आफैँ सम्पर्कमा आएका कारण उनीहरूले भेटिएको खबर नदिँदा उक्त संख्या यथावत् रहेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए। –रासस