काठमाण्डौँ, १६ साउन। प्रतिनिधिसभाको अवरोध हटाउने सभामुख कृष्णबहादुर महराले बिहीबार सर्वदलीय बैठक बोलाएका छन्। नेपाली कांग्रेस र राजपाको अवरोधका कारण केहीदिनदेखि बस्न नसेको संसद बैठक बिहीबार दिउँसो १२ बजेपछि बोलाइएको हो।
बुधबार कांग्रेस र राजपाका सांसदले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै नाराबाजी गरेपछि संसद बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। सर्लाहीको बाँके चोकमा विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेस र राजपाका सांसदको माग गर्दै असार २४ गते देखि प्रतिनिधिसभामा नाराबाजी गर्दै आएका छन् ।
यस्तै, राष्ट्रियसभाबाट राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ पारित गर्ने तयारी छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेपछि पारित गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ।
बिहीबारको बैठकमा वातावरणमैत्री सवारी र यातायात नीति, २०७१ र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्ने कार्यसूची छ।