काठमाडौँ, १६ साउन। अज्ञात समूहले बुधबार राति र बिहीबार बिहानसम्मा दर्जनभन्दा बढी जिल्लाका एनसेलका टावरमा आगजनी र विष्फोट गराएर क्षति पुर्याएका छन्। कतिपय स्थानमा एनसेलका प्रयोगकर्ता सेवाबाट वञ्चित भएका छन्।
प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ। मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको प्रहरीले जनाएको छ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको थियो। तर, आगजनीबाट सञ्चार सम्पर्क भने विच्छेद भएको छैन। आगजनीबाट टावरमा राखिएका केबल तारको बाहिर बेरिएको प्लास्टिक जलेको तर सञ्चार सेवा बिच्छेद हुने गरी क्षति नभएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
एनटीसी टावरमा पनि आगजनी
अर्घाखाँचीमा भने नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको छ। जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको प्रहरीले जनाएको छ। गएराति करिब ८ बजे आगजनी भएको र सामान्य क्षति पुगेको छ।
विष्फोट र आगजनी कसले गरायो भनेर एकीन नभए पनि विप्लव समूहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। किनकि विप्लव समूहले यसअघि पनि पटकपटक विभिन्न स्थानमा एनसेल र एनटीसीका टावरमा क्षति पुर्याउँदै आएको छ।