धनुषा, १९ साउन। प्रदेश नं २ सरकारले एकैपटक ३२ विधेयक प्रदेशसभामा लैजाने भएको छ। तीमध्ये १० वटा विधेयक प्रदेश मन्त्रिपरिषद्को विधायन समितिमा रहेको र २२ वटा विधेयकको सैद्धान्तिक सहमति आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सम्बन्धित मन्त्रालयले लिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए। उनका अनुसार अहिलेसम्म २० वटा कानून प्रदेसभाबाट पास भइसकेका छन्।
यसअघि प्रदेश २ मा दर्ता भएर २१ वटा विधेयक थन्किएका छन्। विगत लामो समयदेखि यस प्रदेशको प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको कानून निर्माण प्रक्रियासमेत सुस्त भएको छ। सभामुख सरोजकुमार यादवले सरकार बाढीपीडितको उद्धार तथा राहतमा लागेकाले बैठक बस्न ढिलार्इ भएको बताएका छन्।
बाढीपहिरोको प्रभाव सबैभन्दा बढी प्रदेश नं २ मा परेको बताउँदै उनले भने, ‘यस्तो अवस्थामा पहिले जनतालाई उद्धार र राहत वितरण गर्नु सरकारको दायित्व हो।’ तर, सोमबारदेखि बैठक बस्ने गरी सबै तयारी सकिएको उनले बताए।
प्रदेशसभामा अहिले गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक दुग्ध विकास बोर्ड, मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक विद्युतसम्बन्धी विधेयक, प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सडकसम्बन्धी विधेयक, प्रादेशिक बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका दर्ता भए पनि थन्किएका छन्। –रासस