पोखरा, २२ साउन। नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने किसिमको शिक्षा वर्तमान समयको आवश्यकता भएको बताएका छन्। नेपाली कांग्रेस कास्कीले बुधबार आयोजना गरेको ‘पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने’ विषयक कार्यक्रममा बोल्दै उनले वर्तमान युग व्यावसायिक शिक्षाको युग भएकोले यसको जिम्मा राज्यले लिनुपर्ने र विश्वबजारमै प्रतिष्पर्धा गर्न सक्ने शिक्षा नीतिको अवलम्बन गर्नुपर्ने बताएका हुन्।
शिक्षा र स्वास्थ्यलाई राज्यले निःशुल्क प्रदान गर्न सकेमात्रै विश्व बजारसँग नेपाली युवा प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ। नेपालको वर्तमान शिक्षा व्यावहारिक नहुँदा विश्व बजारमा नेपालीको श्रमको मूल्याङ्कन हुन नसकेको नेता महतले बताए। देशमा भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको भन्दै सरकारका मन्त्रीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए। ‘त्यतिमात्र होइन, अहिलेको सरकारले आफू नजिककालाई ठेक्कापट्टा र कमिसनतन्त्रमा लगाएको छ,’ उनले भने।