सुर्खेत, २२ साउन। राउटे अगुवाले तीन महीना अघि सुर्खेतको गुर्भाकोट नगरपालिकाको सेराघारीबाट हराएका आफ्ना सदस्यको खोजी गरिदिन माग गरेका छन्। बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राउटे अगुवाले बेपत्ता युवा जयबहादुर शाहीको खोजी गरिदिन सरकारसँग आग्रह गरेका हुन्।
राउटे अगुवाका अनुसार ३७ वर्षीय जयबहादुर यही वैशाख २५ गतेदेखि बेपत्ता भएका हुन्। ‘जङ्गलमा शिकार खेलेर फर्कर्ने क्रममा सेराघारी आसपासबाट हराएको हो,’ राउटे युवा प्रकाश शाहीले भने, ‘हामीले धेरै ठाउँमा खोज्यौँ, फेला पार्न सकेनौँ।’
जयबहादुरको घरमा ६५ वर्षीय बुबा कान्छाराम र बहिनी सुना छन्। जङ्गलमा फिरन्ते जीवन बिताउने यो समुदाय हाल दैलेखको गुराँस गाउँपालिकामा बसाइँ सरेको छ। राउटे समुदायले जयबहादुर हराएपछि गुराँस गाउँपालिकाको कार्यालयलाई खोजीका लागि निवेदन दिएको छ। –रासस