याङ्गुन, २२ साउन। म्यानमारमा यस वर्षमात्रै स्वाइन फ्लुका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो।
सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४२२ जनामा स्वाइन फ्लु भएको प्रयोगशालाबाट पुष्टी भएको थियो। सरकारी अधिकारीहरूका अनुसार यस अवधिमा स्वाइन फ्लुबाट मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा धेरै याङ्गुनमै रहेको पाइएको छ। उनीहरूले याङ्गुनमा ६३ जनाको मृत्यु भएको जानकारी दिएका छन्। याङ्गुनपछि अयेयार्वाडी क्षेत्रमा ९ जनाको र बागो क्षेत्रमा ७ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन्। –रासस/सिन्ह्वा