इस्लामाबाद, २२ साउन। पाकिस्तानले आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ। जम्मु काश्मिर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको हो।
‘हामीले हाम्रा राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने छौँ भने उनीहरूका प्रतिनिधि पनि फिर्ता पठाउने छौँ,’ पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्वुरेशीले भनेका छन्। भारतसँग पाकिस्तानको कूटनीतिक सम्बन्धको स्तरलाई समेत न्यूनीकरण गरिएको उनले बताए।
भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने उनको भनाइ छ। जम्मु काश्मिरलाई दिइएको विषेश अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ।
भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ। हिमाली क्षेत्र काश्मिरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन्।
भारतले शासन गरेको काश्मिर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतको दाबी छ। गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेबारी लिनु परेको केन्द्रीय मन्त्रीहरूको भनाइ छ। –रासस/एएफपी