काठमाडौँ, २३ साउन। काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ। सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको महानगरपालिकाले जनाएको छ। वि.सं. २०७२ सालको भूकम्पपछि महानगरवासीले आफ्नो वडामा भएका सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने चाहेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।
छ महिना पहिले सबै वडालाई आफ्नो वडाभित्रका सार्वजनिक जग्गाको विवरण पठाउन परिपत्र जारी गरेको उनले बताए। अहिले वडावडाबाट विवरण आइरहेको उनको भनाइ छ। ‘३२ वटै वडा कार्यालयबाट विवरण आएपछि नै एकीकृत तथ्याङ्क हुनेछ,’ उनले भने। अहिलेसम्म कुन निजी जग्गा हो र कुन सार्वजनिक जग्गा भन्ने छुट्याउन नसक्दा समस्या भएको उनको भनाइ छ। महानगरपालिकासँग सबै जग्गाको एकीकृत तथ्याङ्क भएपछि कुनै पनि ठाउँमा जग्गासम्बन्धी विवाद हुनासाथ तत्काल समाधानको उपाय निस्कने उनले बताए।
‘अहिले सार्वजनिक जग्गा मिचिएको भन्ने उजुरी परेपछि पहिले जग्गाका बारेमा बुझ्न फाइल खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसलाई हटाउन हामी लागि परेका छौँ।’ भूकम्पपछि नै नागरिकमा सार्वजनिक जग्गाबारे जागरुकता बढेको उनले बताए। भविष्यमा आउनसक्ने जोखिमका लागि पनि सुरक्षित स्थान आवश्यक पर्ने हुँदा सार्वजनिक जग्गाको खोजी आवश्यक रहेको उनले बताए। –रासस