इस्लामावाद, २३ साउन। पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी पक्राउ परेकी छन्। भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मारियम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन्।
भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमध्ये उनी पनि एक प्रभावशाली व्यक्ति हुन्। उनी इमरान खान नेतृत्वको सरकारले मुख्य लक्षित गरेका व्यक्तिमा पर्छिन्। पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्षसमेत रहेकी मारियमलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी)ले पक्राउ गरेको हो।
भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको जनाइएको छ। उनका बुवा नवाज भने सन् २०१८ देखि सात बर्षे सजाय भोग्न अहिले काराबासमै छन्। नवाजलाई पनि भ्रष्टाचार सम्बन्धी अभियोग लगाइएको थियो। उनी पाकिस्तानमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए।
त्यसैगरी मारियमका काका तथा पञ्जावका पूर्व मुख्यमन्त्री शाहबाज शरिफ पनि अहिले अनुसन्धानको दायरामा छन्। उनका अन्य नातेदारहरुमाथि पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्। –रासस/एएफपी