नयाँ दिल्ली (भारत), २३ साउन। भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी भारतको सवैभन्दा ठूलो सम्मान मानिने ‘भारत रत्न’बाट सम्मानित भएका छन्। राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई सम्मान प्रदान गरेका हुन्।
उनलाई कार्यक्रममा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति एम वैनकैया नायडुसहित विभिन्न नेताहरूले बधाई दिए। पूर्वराष्ट्रपतिसँगै आसामी गायक भूपेन हजारिक र आरएसएस नेता नानाजी डेश्मुखलाई पनि मरणोपरान्त ‘भारत रत्न’ प्रदान गरिएको थियो।
पूर्वराष्ट्रपति मुखर्जी सन् १९३५ को डिसेम्बर ११ तारिखका दिन बङ्गाली परिवारमा जन्मिएका हुन्। उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तरसँगै एलएलबी उत्तीर्ण गरेका छन्। सन् २०१२ देखि २०१७ सम्मा उनी भारतको राष्ट्रपति भएका थिए।
त्यसअघि सन् २००९ देखि २०१२ सम्म संघीय अर्थमन्त्रीको पदसमेत सम्हालिसकेका छन्। मुखर्जीलाई भारतमा असल र सम्मानित नेताका रूपमा लिइन्छ। –रासस/एएनआई