काठमाडौँ, २८ साउन। प्रतिनिधिसभा सदस्य सूर्यनारायण यादवले सांसद पदबाट राजिनामा दिएका छन्। सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन्। उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न खोजेको बताएका छन्।
‘मलाई डाइबिटिज लगायत समस्या थियो। पछिल्लो समय स्ट्रेस पनि बढिरहेको छ,’ उनले भने, ‘त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्।
यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ। त्यसपछि पुनः चुनाव गराउनुपर्छ। कास्की जिल्लामा यसअघि नै प्रतिनिधिसभाको एक क्षेत्रमा रिक्त छ। यादवको राजीनामा स्वीकृत भएपछि दुई क्षेत्रमा प्रतिनिधिसभा सदस्यको ठाउँ खाली रहनेछ।