काठमाडौँ, २९ साउन। विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत एसेज शृंखलाको दोस्रो टेस्ट बुधबारदेखि सुरु हुँदैछ। अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट बुधबार इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ।
पहिलो टेस्टमा उत्कृष्ट पुनरागमन गर्दै एक दिवसीय विश्वकप जितेको इंग्ल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गरेको थियो। यो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरले डेब्यू गर्ने सम्भावना छ। इंग्ल्याण्डका एन्डरसन घाइते भएपछि उनी प्लेयिङ सेटमा पर्ने सम्भावना रहेको हो।
अस्ट्रेलियाका स्टार खेलाडी स्टीव स्मिथलाई चाँडै आउट गरेमा खेलमा फर्कन सजिलो हुने इंग्ल्याण्डको बुझाइ छ। बल टेम्पिरिङ अभियोगमा १ वर्षको प्रतिबन्ध पूरा गरेर यसै टेस्टमा स्मिथले कमब्याक गरेका थिए। कमब्याक टेस्टमै दुवै इनिङ्समा शतक बनाएर सबैको ध्यान केन्द्रित गरेका छन्।
इंग्ल्याण्डले पहिलो टेस्टमा पराजित भएपछि अहिलेसम्म दुई पटक मात्रै सिरिज जितेको छ। पहिलो पटक सन् १९८१ र २००५ मा इंग्ल्याण्डले पहिलो टेस्ट गुमाएर पनि सिरिज हात पारेको थियो। दोस्रो टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु रातो क्याप लगाएर मैदानमा उत्रने छन्।