काठमाडौँ, २९ साउन। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकका संशोधन गरिने बताएका छन्। नेपाल पत्रकार महासङ्घले बुधबार आयोजना गरेको ‘राष्ट्रियसभा र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरसंवादमा उनले भने, ‘विधेयकमा सम्बन्धमा सञ्चार क्षेत्रबाट नै विरोध भएकोले दलहरुबीच संशोधन गरेर अघि बढ्ने सहमति भएको छ।’
महासङ्घ सबै पत्रकारको साझा संस्था भएकोले महासङ्घको सुझावलाई विधेयकमा समेटिने भन्दै उनले सत्यतथ्य समाचार प्रवाह गर्ने दायित्वबारे सचेत रहनसमेत आग्रह गरेका छन्। कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले विधेयकबारे सरोकारवालाको सुझावलाई छलफलमा लैजाने बताइन्।
राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले विधेयकका सम्बन्धमा महासङ्घले दिएको सुझावमा छलफल गरेर अगाडि बढ्ने बताए। ‘विधेयकमा भएको दण्डजरिवाना हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने विषयमा नेपाल पत्रकार महासङ्घसँग छलफल गरेर मात्र अघि बढाइनेछ।’
राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र पाण्डेले काउन्सिल विधेयकका सम्बन्धमा महासङ्घ तर्फबाट संशोधनको सुझाव पनि आइसकेको र सत्तापक्षबाट संशोधन गर्ने भन्ने प्रतिबद्धता पनि आइसकेकाले विधेयक मिडियामैत्री बन्ने धारणा राखे। –रासस