काठमाडौँ, ३० साउन। नौ दिनसम्म सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्योपचार गरेर स्वदेश फिरेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन्। सोमबार नेपाल फर्किएका प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा व्यस्त थिए।
तर, बिहीबार बिहानैबाट अस्वस्थ भएपछि नेकपाको सचिवालय बैठकसमेत स्थसगत गरिएको छ। टाउको भारी हुने र आंशिक ज्वरो आउने भएपछि चिकित्सकहरूले आराम गर्न सल्लाह दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
स्वास्थ्य परीक्षण गराएका फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आफू स्वस्थ भएको भन्दै स्वास्थ्यस्थितिबारे चिन्ता नलिन आग्रह गरेका थिए। अस्वस्थ भए पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), सचिवालय सदस्य रामबहादुर थापा (बादल) र महासचिव विष्णु पौडेलसँग भने दिनभरजसो परामर्श गरेका निजी सचिवालयले जनाएको छ।
मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली साउन १८ गते उपचारको लागि सिंगापुर गएका थिए। तर, स्वास्थ्य परीक्षणको रिपोर्ट आउन समय लागेकाले उनको सिंगापुर बसाइ लम्बिएको थियो। तर, सिंगापुरमा स्वास्थ्योपचार गरेर आएको रिपोर्ट भने सार्वजनिक गरिएको छैन।