अछाम, ३१ साउन। अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पहिरोले ६ रोपनी खेत र स्वास्थ्य क्लिनिक भवन बगाएको छ। बुधबार राति भएको वर्षाका कारण आएको पहिरोले दर्ना काँडाकोट टोलका स्थानीयको खेत र गाउँघर स्वास्थ्य क्लिनिककोे भवन बगाएको हो।
स्थानीय पंख कठायत, अम्मर साउद, बाहादुर धामी र गणेश धामीको ६ रोपनी खेत पहिरोले बगाएको पीडितले बताएका छन्। गाउँको पाडुमुजेली, भोट्यावस्या र राक्स्या खेत पहिरोले बगाएको पिडीत किसान पंख कठायतले जानकारी दिए।
पहिरोले खेत बगाएपछि किसानले व्यवस्थापन र राहतका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने मागसमेत गरेका छन्। पहिरोले काडाकोटमा स्थापना गरिएको सहरी स्वास्थ्य क्लिनिकको भवनमा पनि क्षति पुगेको छ। भवन पहिरोले पुरिएपछि स्वास्थ्य सेवासमेत प्रभावित भएको छ।