काठमाडौँ, ३१ साउन। आईसीसी क्रिकेट विश्वकप ‘लिग टू’ मा घरेलु टोली स्कटल्यान्डमाथि ओमानले आठ विकेट जित हासिल गरेको छ। बिहीबार राति भएको आईसीसी क्रिकेट विश्वकप लिग टूको पहिलो खेलमा १६९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४५ दशमलव १ ओभरमा दुई विकेटको क्षतिमै लक्ष्य भेटायो।
ओमानको जितमा खवार अलीले अविजित ७९ रन बनाए। त्यस्तै, अकिब लियसले ६१ रनको योगदान दिए। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४४ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा १६८ रन मात्रै बनाएको थियो। स्कटल्यान्डका लागि कप्तान कायल कोएटजरले ५६, क्राइग वालेन्सले ३६ र माथेव क्रसले ३३ रन बनाए। बलिङतर्फ खवार अलीले ९ ओभर बलिङ गर्दै २३ रन खर्चिएर चार विकेट लिए।