काठमाडौ ३२ श्रावण। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए।
कम्पनीका अन्य संचालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दरप्रसाद कंडेल छन्। सभाले सञ्चालक समितिको आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।
सिद्धार्थ बैँक लिमिटेडलगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवर्द्धन रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड “कम्पनी”ले मिति २०७४ मंसिर १ गतेदेखि विधिवतरुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ।