चितवन, ३२ साउन। पत्रकार शालिकराम पुडासैनीको न्यायको लागि भन्दै शनिबार भरतपुरमा प्रदर्शन गरिएको छ। आरोप लागेका जो कोहीमाथि अदालतले छानबिन गर्न पाउने अधिकारलाई नै प्रभावित पार्ने गरी समर्थन र विरोध गर्न नमिल्ने उनीहरूको भनाइ छ। प्रर्दशनका क्रममा उनीहरूले निष्पक्ष छानविन गर्न दिन आग्रह गरेका छन्।
स्वतन्त्र युवा समूहको नामबाट गरिएको प्रर्दशनमा दोषी ठहरिए कानुनी कारबाही हुने भन्दै पत्रकार रवि लामिछानेको पक्ष र विपक्षमा उभिने बेला नभएको प्रर्दशनमा सहभागी राजु भुषालले बताए।
पुडासैनीले आत्महत्या गर्नुअघि छाडेको भिडियो रेकर्डमा आफूलाई मर्न बाध्य बनाउने व्यक्ति भनेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम सार्वजनिक गरेपछि उनीहरू तीनैजनालाई प्रहरीले बिहिबारै पक्राउ गरेर चितवन ल्याइएको छ। चितवन जिल्ला अदालतले तीनै जनामाथि पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ।