काठमाडौँ, ०१ भदौ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा जारी भएको नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै गएको बताएका छन्। फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक गोष्ठीमा बोल्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘नागरिकले अनाहकमा दुःख नपाउन्, निर्दोष व्यक्ति नफसून् र पीडक पनि कानूनको दायरामा आउन् भन्ने अभिप्रायका साथ प्रहरीले काम गरिरहेको छ।’
गत वर्षदेखि लागू भएको नयाँ कानून कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको उनले दाबी गरे। ‘राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्न नेपाल प्रहरी सक्षम छ,’ उनले भने।पूर्व–महान्यायाधिवक्ता प्राडा युवराज सङ्ग्रौलाले संहिता कार्यान्वयन सन्दर्भमा सुझाव प्रस्तुत गर्दै अनुसन्धान तथा अभियोजनकर्ताले आफ्नो भूमिकामा खरो उत्रिएका छौँ कि छैनौँ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए।
उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संहिता कार्यान्वयनमा देखिएका प्रभावकारिता र चुनौतीबारे चर्चा गर्दै कानूनको विश्वव्यापी मान्यताअनुसार संहिता आएको उल्लेख गरे। आगामी दिनमा अदालत, महान्यायाधिवक्ताको कार्यालय, सम्बन्धित मन्त्रालय र नेपाल प्रहरीले आपसी समन्वय तथा सहकार्य गर्दै कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। –रासस