काठमाडौँ, ०२ भदौ। मदन पुरस्कार गुठीले यस वर्षको ‘जगदम्बाश्री’ र ‘मदन पुरस्कार’ घोषणा गरेको छ। गुठीको आइतबार भएको साधारणसभाले तेस्रो आयाम साहित्यक अभियानका एक आरम्भकर्ता बैरागी काइँलालाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री र ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
गुठीले २५७ कृतिमध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट गरी सिफारिस गरिएको थियो। सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पुरस्कारका लागि सिफारिस भएका थिए।
२०७४ मा भने शान्तदास मानन्धरलाई ‘जगदम्बाश्री’ र निलम कार्की निहारिकाको ‘योगमाया’लाई मदन पुरस्कार प्रदान गरिएको थियो। वि.सं. २०४५ सालमा जगदम्बाश्री र वि.सं. २०१२ मा मदन पुरस्कार स्थापना भएको हो।