
डेङ्गु, डेङ्गु भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन्। डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेङ्गु भाइरस (१,२,३,४) भनिन्छ।
एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन्। त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ। यो लामखुट्टेको विशेषता अरु लामखुट्टेको भन्दा फरक प्रकृतिको छ। यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ।
पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ। आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । झन्डै ३ सय वर्षअगाडिबाट डेङ्गु उष्ण प्रदेशीय देशको लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ।
सन् २००३–२००४ मा श्रीलंकामा गरिएको एक अनुसन्धानले यी लामखुट्टेहरु मुख्यतः पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डाहरुमा देखिएका थिए। थाइल्याण्डमा गरिएको एक अनुसन्धानले डेङ्गुको संक्रमण भएमा ५ सय गुणा बढी डेङ्गु हेमोरेजिक ज्वरो हुने पुष्टि भएको छ।
डेङ्गु ज्वरोमा रगतसम्बन्धी असर भएर प्लेटलेट्सको संख्या अध्याधिक कम हुने जटिलता बढ्दछ। हालसालै नेपालमा सबै प्रकारका भाइरस पाइनु र संक्रमण दर बढ्दै जानुले भविष्यमा भयावह अवस्था नल्याउला भन्न सकिन्न।
लक्षण तथा चिह्नहरू :
सङ्क्रमण बोकेको लामखुट्टेको टोकाई भएको ३ देखि १४ दिनसम्ममा यस्को लक्षण देखा पर्न थाल्दछ। डेङ्गु भाइरस संक्रमणपश्चात् कतिपयमा कुनै लक्षण तथा चिह्नहरु नै नदेखिने हुन सक्दछ। लक्षण तथा चिह्न देखिएकामा पनि कसैलाई साधारण ज्वरोमात्र आउने गर्दछ भने कसैलाई रगत नजम्ने जटिलता हुन्छ।
कसैको चाहिँ यस्तो स्थितिमा पुगेर मृत्युसमेत हुने गर्दछ। विश्व स्वास्थ्य संगठनले डेङ्गु संक्रमणलाई विभिन्न तरिकाले विभाजन गरेको छ। साधारण प्रकारको डेङ्गु ज्वरोमा अत्याधिक १०३–१०४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, छालामा रगत जमेका राता खटिराहरु देखिने गर्दछन्।
कसै–कसैमा थप जटिलताहरु उत्पन्न हुन सक्दछन्। जसमा विस्तारै रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जान्छ। प्लेटलेट्स रगत जमाउने महत्वपूर्ण तत्व हो। अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आँफै रगत बग्न थाल्दछ जस्तोः नाक, गिजा आदि।
पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, कालो दिशा हुने, पिसाबको मात्रा कम हुनु, श्वास फेर्न गाह्रो हुने हुन्छन्। डेङ्गु संक्रमणमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा पहिलो तीन दिन अत्याधिक ज्वरो आउँछ।
त्यसपछिका चौंथो र पाँचौ दिन अति नै संवेदनशील दिनहरु हुन्। क्रमशः रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने, शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन जान्छ, जसमा बिरामीका अंगहरुले काम नगरी मानिसको मृत्यु पनि हुन सक्दछ। तर यसपछिका छैठौंदेखि दशौं दिनभित्रमा पुनः साधारण जीवन प्रक्रियातर्फ फर्किन थाल्दछ।
उच्च जोखिममा पर्ने वर्गहरू :
एक वर्षभन्दा मुनिका बच्चाहरू र ६० वर्षमाथिका वृद्धवृद्धाहरू, मोटोपन भएका व्यक्तिहरू, गर्भवती, पेप्टिक अल्सर भएका व्यक्ति, रगत नजम्ने रोग भएका जस्तोः थालेसेमिया, जन्मजात मुटुका बिरामी, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौला फेलियर भएका दीर्घ रोगी, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेका व्यक्ति उच्च जोखिममा पर्दछन्।
उपचार पद्धति :
डेङ्गु भाइरल संक्रमण हो। प्रायः भाइरल संक्रमणमा लाक्षणिक तथा सहयोगी उपचार प्रक्रिया अपनाउनु पर्दछ। यसको आफ्नै एन्टीभाइरल औषधि भने छैन। चाँडोभन्दा चाँडो रोगको पहिचान गर्नु अत्यन्त आवश्यक छ।
समयमै उपचार सुरु गर्दा जटिलता र मृत्युबाट बचाउन सकिन्छ। हिजोआज नेपाल सरकारले डेङ्गु प्रभावित जिल्लाका स्वास्थ्य संस्थाहरुमा निःशुल्क र्यापिड डाइगोनोष्टिक टेस्ट किट (RDT) उपलब्ध गराएको छ। तसर्थ, माथिका लक्षण देखिएमा तुरुन्त परीक्षणको लागि जानुपर्दछ।
एस्प्रिन, आइबुप्रोफिन लगायतका औषधिको जथाभावी प्रयोग गर्नु हुँदैन। बिरामीले प्रशस्त पानी तथा झोलिलो पदार्थहरु सेवन गर्नुपर्दछ। स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्दछ।
डेङ्गु सर्ने तरिका :
अहिलेसम्म डेङ्गु भाइरल मानिसबाट मानिसमा सरिसकेको छैन। डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ। लामखुट्टेको कारणभन्दा पनि मानिसहरूको तीव्र बसाइँसराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको छ।
डेङ्गुबाट बँच्ने उपायहरू :
दिउँसो टोक्ने लामखुट्टे एडिज हो। तसर्थ, यसको संक्रमणबाट बच्नु एकदम महत्वपूर्ण छ। थोरै र सफा पानी जम्न सक्ने भाँडाहरू जस्तोः गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन। गमलाहरूमा रहेका पानीलाई हप्ताको २ पटक परिवर्तन गर्नुपर्दछ।
पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ। दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरू प्रयोग गर्नुपर्दछ। लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ।
उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ। घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ। घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्दछ। डेङ्गुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ।