नवलपुर, ०५ भदौ। नमुना मावि गैँडाकोटले ब्रिटिस काउन्सिलले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय स्कूल अवार्ड’ (आइएसए) हात पारेको छ। विद्यालयले गर्दै आएका कृयाकलापको आधारमा पाउने अवार्डबाट पहिलो पटक नमुना मावि सम्मानित भएको विद्यालयका प्रिन्सिपल गोपिन्द्रकेशरी न्यौपानेले जानकारी दिए।
उनका अनुसार देशभरका ४१ वटा विद्यालयले अवार्ड पाएका छन्। तीमध्ये नवलपुर जिल्लाबाट नमुनासहित ६ वटा विद्यालयले अवार्ड हात पारेका छन्। सन् २०१२ बाट ब्रिटिस काउन्सिलले अवार्ड प्रदान गर्दै आएको छ। नेपालमा शिक्षा मन्त्रालयमार्फत ब्रिटिस काउन्सिलले विद्यालयलाई अवार्ड प्रदान गर्दै आएको नमुना मावि आइएसए कोअर्डिनेटर वसन्त भण्डारीले जानकारी दिए।
यो अवार्डले विद्यालयको छविलाई थोरै भए पनि माथि उकास्नमा सहयोग विद्यालयले जनाएको छ। विद्यालयले गरेको अथक मिहेनत र परिश्रमको फल पाएको आइएसए लिडर निर्मल पाण्डेको भनाइ छ। ९ वटा परियोजनामा नमुना माविले भाग लिएको थियो। उनका अनुसार यो वर्ष अवार्ड दाबी गर्न नेपालबाट ७२ वटा विद्यालयले सहभागीता जनाएका थिए।
हरेक तीन/तीन वर्षमा अवार्डको अवधि सकिने हुँदा विद्यालयले अवार्ड पाइसकेपछि यसलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण रहेको विद्यालयका शिक्षक सुन्दर सिग्देलले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार लम्सालले भने विद्यालयले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाएको भन्दै खुसी व्यक्त गरे। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनको लागि हर प्रयास जारी राख्ने उनको भनाइ छ।
उक्त अवार्डबाट विद्यार्थीहरूलाई बाह्य ज्ञान र सीपसम्बन्धी जानकारी हुने हुँदा विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास दिलाए। वि.सं.२०५१ सालमा स्थापना भएको विद्यालयमा एक हजार ६०० विद्यार्थी अध्ययनरत छन्।