काठमाडौँ, ०५ भदौ। १० दिनअघि सिंगापुरबाट स्वास्थ्य जाँच गराएर स्वदेश फिरेका प्रधानमन्त्री केपी शर्मा ओली पुनः स्वास्थ्य परीक्षणका लागि बिहीबार सिंगापुर जाँदै छन्। चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरको बिमानमार्फत सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायतको टोली सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन्।
यसअघि पनि उनले त्यही अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि नौ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन।
प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन्। उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गरेका प्रधानमन्त्रीले बीचमा स्वदेशमै उपचार गराएका थिए।
मिर्गौला प्रत्योपणका विरामीले निश्चित समयपछि औषधि परिवर्तन गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। कतिपयले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई पनि औषधि परिवर्तन गर्नुपरेको छ।
नयाँ औषधिले काम नगरे नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्ने विकल्प रहन्छ। ओलीले के गर्ने भन्ने निश्चित भएको छैन। प्रधानमन्त्री स्वयं र उनको सचिवालयले पनि स्वास्थ्यबारे विस्तृतमा केही जानकारी दिएका छैनन्।