चितवन, ०५ भदौ। चितवनमा एउटा यस्तो समूह छ, जुन समूह हप्तामा एक दिन एक छिन समाजको लागि हाजिर हुन्छ। समूहको उद्देश्य एउटै हो, वातावरण संरक्षण। वातावरण संरक्षण गर्न सके वायुमण्डल त्यसै पनि स्वच्छ रहन्छ भन्ने मान्यताका साथ २०७३ साल जेठ २४ गते भरतपुर ४ लंकू शिवालय मन्दिर परिषरबाट सुरू भएको सरसफाइ अभियानले हालसम्म १९३ औँ शृङ्खला पार गरिसकेको छ।
हरेक हप्ताको सोमबार स्वतस्फूर्तरूपमा हातमा कुचो र बाल्टी बोकेर सडकमा निस्कने यो समूहले यसपटक भने अलि फरक खालको कार्यक्रम आयोजना गर्न लागेको छ। महिला दिदीबहिनीहरूको महान पर्व तीजको अवसर पारेर तीज गीत प्रतियोगिता गर्न लागेको हो। आफैँ सक्रिय भएर मात्रै नहुने भन्दै सांगितिक माहोलबाट पनि समाजमा वातावरण सरसफाइसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए।
आउँदो शनिबार भरतपुर महानगरपालिकाको वडा नं. ४ को कार्यालयसँगै रहेको खाली चौरमा कार्यक्रम आयोजना गर्न लागेको उनले बताए। उनका अनुसार वातावरण सरसफाइ र मानव स्वास्थ्यसम्बन्धी विषयमा २३ समूहले प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये प्रथम हुने समूहलाई नगद २० हजार रूपैयाँ उपलब्ध गराइनेछ। यस्तै द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रूपैयाँका दरले नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए।
कूल ४३ समूहले नाम दर्ता गराएकामा समूहले छनौट गरेका २३ वटा समूहले मात्रै प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। तीज पर्वलाई भद्र र मौलिकपन दिनुका साथै वातावरण जोगाउनमा मद्दत पुगोस् भन्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।
ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले भने पहिलो पटक कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए। ‘हामीले अहिलेसम्म स्वतस्फूर्तरूपमा हरेक हप्ता सरसफाइतर्फ केन्द्रीत हुँदै आएका थियौँ,’ उनले भने, ‘तर, ‘यस पटक केही फरक उदाहरण पनि गरौँ भन्ने सल्लाह भएअनुसार नै कार्यक्रम अयोेजना गर्ने निर्णय भएको हो।’
सात/आठ जनाको समूहबाट सुरू भएको अभियानमा अहिले करिब १५० जना सदस्य छन्। हरेक हप्ता हुने साप्ताहिक कार्यक्रममा कम्तिमा ५० जना नियमित सहभागी हुँदै आएको अध्यक्ष कँडेलले जानकारी दिए।