चितवन, ०६ भदौ। चितवनलाई पोल्ट्रीको राजधानी नै मानिन्छ। ह्याचारी व्यवसायी संघका अनुसार चितवनबाट मात्रै सरदर हरेक हप्ता २० देखि २२ लाख चल्ला उत्पादन हुँदै आएको छ। देशको मागअनुसार आधा बजार चितवनकै उत्पादनले ढाकेको स्वयम् व्यवसायी नै बताउँछन्। तर, बेलाबेला चितवनकै बाटो भएर अवैध चल्ला ओसारपोसार हुने क्रम पनि रोकिएको छैन।
साउन लागेदेखि हालसम्मको तथ्यांक हेर्दा चितवन जिल्लामा मात्रै अवैध तरिकाले भित्रिएका करिब ११ हजार कुखुराका चल्ला नष्ट गरिएको छ। यही क्रममा बिहीबार पनि चितवनमा एक हजार ५ सय चल्ला नष्ट गरियो।
इलाका प्रहरी कार्यालय गैँडाकोटले चेकजाँचको क्रममा गैँडाकोट ९ थुम्सीबाट नियन्त्रणमा लिएको लु १ च ९५७३ नं.को बलेरो जिपमा ल्याइएको एक हजार ६०० अवैध ब्रोइलर चल्ला पशु क्वारेन्टाइन केन्द्र रामनगर, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवन, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल ह्याचरी उद्योग संघ चितवनलगायत सरोकारवाला निकायको रोहबरमा पशुसेवा विज्ञ केन्द्र ल्याई नष्ट गरिएको हो।
अवैध तरिकाले ल्याएको चल्लाको विलमा एक हजार दुईसय उल्लेख गरिए पनि एक हजार ६०० चल्ला भएको पुष्टि भएकोले दोहोरो गल्ती काम गरेको पशु क्वारेन्टाइन केन्द्र रामनगरका प्रमुख रामकिशोर साहले जानकारी दिए। ‘इलाका प्रहरी कार्यालय गैँडाकोटले चेकजाँचका क्रममा अवैध चल्ला ल्याएको थाहा पाएपछि हामीलाई पत्रमार्फत कारवाहीको लागि पठाएपछि हामीले आवश्यक कारवाही गरेका हौँ,’ उनले भने, ‘भारतबाट सुनौली नाका हुँदै गोरखा लैजानको लागि ल्याएको बुझिएको छ, तर चल्लाको जिम्मा भने कसैले पनि लिएका छैनन्।’
इलाका प्रहरी कार्यालय गैँडाकोटले दिएको जानकारी अनुसार उक्त बलेरो गैँडाकोट ९ स्थित थुम्सीमा रोकिराखेको ना ४ ख ९६०६ नं.को ट्रकमा ठोक्किएपछि नियन्त्रणमा परेको हो। ‘हामी चेकजाँचका क्रममा थियौँ, त्यही बेला पश्चिमबाट आएको बलेरो जिप रोकिराखेको ट्रकमा ठोक्किन पुग्यो, जाँच गर्दा अवैध चल्ला ल्याएको खुलेको हो,’ इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काले भने, ‘आफूले गल्ती काम गर्नु र प्रहरी चेकजाँच हुनु एकै पटक भएपछि भएको हतोत्सायीका कारण दुर्घटना भएको हो।’ प्रहरीका अनुसार दुर्घटनामा परी बलेरो चालक सामान्य घाइते भएका थिए।