बाँके, ०९ भदौ। नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेका हुन्।
वडा अध्यक्ष बेहनाले मुद्दा दायर गरेलगत्तै पत्रकार श्रेष्ठलाई पक्राउ गर्न पुर्जीसमेत जारी गरिएको छ। अभद्र व्यवहारसम्बन्धी कसुर गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।
मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो। वडाध्यक्ष बेहनाले नौ दिनअघि नै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे पनि मेलमिलापका लागि समय दिइएको प्रहरी उपरीक्षक वलीले बताए। श्रेष्ठलाई पक्राउ गर्न सोमबार नै पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ।
श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेका वडाध्यक्ष बेहनाले श्रेष्ठले पटक–पटक आफूलाई धम्की दिई गैरकानूनी लाभ (फिरौती) लिएको दाबी गर्दै आएका छन्। मुलुकी अपराधसंहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए एक वर्षसम्म कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए।
श्रेष्ठले विगतमा पनि पत्रकार आचारसहिंता विपरीत काम गरी नेपाल पत्रकार महासङ्घ र जिल्लाका पत्रकारको प्रतिष्ठामाथि आँच पुर्याएका कारण पत्रकार महासङ्घले करीब आठ वर्षअघि साधारण सदस्यतासमेत नरहने गरी खारेज गरेको थियो। – रासस