चितवन, १० भदौ। न्युज २४ टेलिभिजनका ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले शालिकराम पुडासैनी आत्महत्याको घटनाले अझ बढी जिम्मेवार बनाएको बताएका छन्। सोमबार चितवन जिल्ला अदालतले पाँच लाख रूपैयाँ धरौटीमा रिहा गरेपछि मंगलबार बिहान भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमका क्रममा लामिछानेले भने, ‘यो घटनाले हामीलाई अझ बढी जिम्मेवार बनाएको छ। सीधाकुरा जनतासँग कार्यक्रम अझ ओजिलो र अझ बढी खोजमूलक बन्नेछ।’
११ दिनसम्म चितवन प्रहरीको हिरासतमा रहँदा न्यायिक पक्षलाई अनुसन्धानमा सहयोग गर्ने महत्त्वपूर्ण अवसर मिलेको उनले बताए। आफू हिरासतमा रहँदै गर्दा बाहिर जनताले न्यायको लागि उठाएको आवाजले आफू ऋणी भएको उनको भनाइ छ। ‘जनताले लगाएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘हाम्रो न्यायका लागि जनता सडकमा आउनुभयो। जसलाई हामीले आशिर्वादको रूपमा ग्रहण गरेका छौँ।’
निष्पक्ष ढंगले काम गरेकै कारण जनताले विश्वास गरेको भन्दै जनताको विश्वासलाई कुनै पनि हालतमा मर्न नदिने प्रतिवद्धतासमेत जनाए। ‘हामी कसैको विरोधमा छैनौँ, जनताको पक्षमा छौँ,’ उनले भने, ‘विकृति विसंगतिका विरूद्ध हामीले जुनसुकै दल या जुनसुकै क्षेत्र छाडेका छैनौँ, त्यसैले हामीलाई अप्ठ्यारो पर्दा बोल्ने कोही पनि हुँदैन कि भन्ने चिन्ता थियो। तर, होइन रहेछ। जनताको पक्षमा काम गर्दा जनताले नै साथ दिँदो रहेछ भन्ने कुरा आज पुष्टि भएको छ।’
रविसँगै पक्राउ परेर तीन लाख रूपैयाँ धेरौटीमा रिहा भएका युवराज कँडेलले पनि जनताको ११ दिनसम्मको समर्थनले ‘सीधाकुरा जनतासँग’ कार्यक्रममार्फत जतानको चासो र गुनासोलाई सम्बोधन गर्नको थप बल पुगेको बताएका छन्। ‘यो घटनाले हामी कत्ति पनि बिचलित भएका छैनौँ,’ उनले भने, ‘हामीलाई थप हौसला मिलेको छ।’
११ दिनसम्म न्यायको लागि प्रदर्शनमा आएका समर्थकको लागि दिउँसो २ बजे नारायणी नदी किनारमा धन्यवादसहितको सम्बोधन कार्यक्रम राखिएको उनले बताए। माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको गत साउन २० गते नारायणढको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि पुडासैनीले रेकर्ड गराएर छाडेको भिडियोको आधारमा आत्महत्या दुरुत्साहन गरेको आरोपमा रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई साउन ३० गत काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएको थियो।
अस्मिता कार्कीलाई भने चितवन जिल्ला अदालतले साधारण तारेखमा रिहा गरिएको हो। अदालतले रिहा गरेलगत्तै रवि समर्थकहरूले सोमबार राति अबेरसम्म पनि खुसीयाली मनाएका थिए।