गोरखा, १० भदौ। सोमबार साँझदेखि गोरखामा विद्युत अवरूद्ध भएको छ। चट्याङले मुख्य ट्रान्सर्फमरमा क्षति पुर्याएपछि सोमबारबेलुकादेखि विद्युत आपूर्ति बन्द भएको हो।
चट्याङले गोरखा वितरण केन्द्रको ६ र ८ एमभीए क्षमताको ट्रान्सर्फमरमा क्षति पुर्याएको हो। ‘३३ केभी प्रसारण लाइन जोडिएको मुख्य ट्रान्सर्फमरमै क्षति पुगेकाले विद्युत अवरुद्ध भएको हो, ‘नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका इन्जिनियर कृष्ण कँडेलले भने, ‘सोमबार साँझदेखि नै मर्मतको लागि प्रयास गरिए पनि सफल भएको छैन।’
ट्रान्सर्फमर जलेको भए नयाँ ट्रान्सर्फमर ल्याएर जडान गर्न केही दिन लाग्नसक्ने गोरखा वितरण केन्द्रले जनाएको छ। विद्युत आपूर्ति नै बन्द भएपछि गोरखा सदरमुकामसहित आसपासका झण्डै २० हजार ग्राहक सेवाबाट वन्चित भएका छन्। विद्युत अवरुद्ध भएका कारण यहाँबाट प्रकाशन हुने दैनिक पत्रिका प्रकाशन हुन सकेका छैनन् भने केही रेडियोको प्रसारणसमेत बन्द भएको छ।