दैलेख, १२ भदौ। निर्माणाधीन मध्यपहाडी राजमार्गको लोहोरे–बेस्तडा खण्ड मौरेसालमा ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। भगवतीमाई गाउँपालिका–१, पगनाथमा से १ त १६५२ नम्बरको ट्र्याक्टर सडकमै पल्टिँदा ट्रलीमा बसेका मजदुरहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए।
सडक निर्माण गर्ने गजुरमुखी कम्पनीको सडक निर्माण गर्ने मजदुरहरुलाई मौरेसालबाट बेस्तडा बजारतर्फ लैजाँदै गर्दा ट्रलीको लोडपिन भाँचिएका कारण ट्रली मात्र खसेपछि मजदूरहरु घाइते भएको बताइएको छ।
घाइते १८ मध्ये ६ जनालाई बेस्तडाको स्थानी मेडिकलमा र बढी चोट लागेका १२ जनालाई दैलेख जिल्ला अस्पतालमा ल्याइएकोमा तीमध्ये ३ जना गम्भीर घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।
सुर्खेत पठाइएका गम्भीर घाइतेहरुमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का ३० वर्षीय डिलबहादुर नाथको आँखा र ढाडमा, त्यसै ठाउँका ४० वर्षीय गोरबहादुर सिंंहको आँखा र टाउकोमा र दैलेखको भगवतीमाई गाउँपालिका–४ का ७० वर्षीय सेते थापाको छाती र निधारमा कडा चोट लागेको छ।
दुर्घटनालगत्तै बेस्तडा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि पठाउनुका साथै दुर्घटना गराउने चालक नौमूले गाउँपालिका–५ का २५ वर्षीय रघु बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक ओलीले बताए।