लमजुङ, १२ भदौ। बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर बिहीबार एक नेपाली सैनिकको मृत्यु भएको छ। दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो।
केही दिनअघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरेपछि भएको फोहरमैला सफाइ गर्न सेनाको टोलीसहित पुगेका श्रेष्ठ सरसफाइ गर्ने क्रममा झरनाबाट खसेर घाइते भएका थिए। बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिए। – रासस




