सप्तरी, १६ भदौ। सप्तरीको महादेवा गाउँपालिकाको कामकाज ६ दिनदेखि प्रभावित भएको छ। स्थानीयवासीबाटै असुरक्षित भएको भन्दै कर्मचारी कार्यालयमा बस्न छोडेपछि सेवाग्राही मर्कामा परेका हुन्।
गाउँपालिकाका २५ जना कर्मचारी भदौ ११ गतेदेखि नै कार्यालयमा जाने र हाजिर गरेर मात्रै फर्किने गरेका छन्। बैसाखमा भएको कुस्ती प्रतियोगिताका लागि गाउँपालिकाले थोरै रकम निकासा गरिदिएको विषयमा स्थानीय युवाहरुले कार्यालयमा प्रवेश गरी पटक–पटक आक्रमण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले बताए।
पछिल्लो पटक भदौ ११ गते इन्द्रनारायण मण्डल, सञ्जय कुमार यादव र नुनु मण्डलसहितका युवाहरुले कार्यालयमा प्रवेश गरेर कर्मचारीमाथि हातपात गरेपछि आफूहरु थप असुरक्षित भएको कर्णको भनाइ छ। आफूलाई जोगाउन आएका कार्यालय सहयोगी भुपेन्द्र यादवलाई युवाहरुले कुटपिट गरी घाइते बनाएको कर्णले बताए।
कर्मचारीहरुले आइतबार राजविराजमा पत्रकार सम्मेलन नै आयोजना गरेर शान्तिसुरक्षाको माग गरेका छन्। युवाहरुले फोन गरेर कार्यालय छाडेर जान धम्की दिने गरेको कर्णले बताए। घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदासमेत सुनुवाइ नभएको उनको भनाइ छ।
‘हामीले घटनाको भोलिपल्टै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थियौं। प्रमुख जिल्ला अधिकारीलाई नै भेटेर पनि कुरा गर्यौं,’ कर्णले भने, ‘तर, हालसम्म त्यस विषयमा कुनै सुनुवाइ भएन।’
पत्रकार सम्मेलनमा उपस्थित गाउँपालिका अध्यक्ष दिपककुमार यादव, वडा नं. १ का अध्यक्ष जयश्वर किशोर दास, वडा नं. ४ का अध्यक्ष जुगेश्वर साह र वडा नं. ५ का अध्यक्ष रमेश मण्डलले पनि हाल कार्यालय रहेको वडा नं. ६, ढिकलीमा कर्मचारीहरु असुरक्षित भएको बताए।
अनावश्यकरुपमा रकमको माग गर्ने, नदिए दुर्व्यवहार र कुटपिट गरिहाल्ने प्रवृत्तिका कारण कर्मचारीसहित जनप्रतिनिधि समेत आजित भएको स्वयम् जनप्रतिनिधी नै बताउँछन्। आफ्नै अगाडि पनि २ पटक कर्मचारीमाथि दुर्व्यवहार भइसकेको गाउँपालिका अध्यक्ष यादवले पुष्टि गरे।
गाउँपालिकाको कार्यालय सार्ने षड्यन्त्र
गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष र कर्मचारीसहितले कुटपिट र दुर्व्यवहारको आरोप लगाइएका युवाहरुले भने स्थानीयवासीलाई आरोप लगाएर कार्यालय सार्ने षड्यन्त्र सुरु भएको बताए। अध्यक्ष यादवले बैसाख १ देखि ४ सम्म सञ्चालन भएको कुस्ती प्रतियोगितामा लागेको सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाए पनि अन्तिम समयमा २ लाख रुपैयाँ मात्रै भुक्तानी गरेपछि सोही विषयमा सामान्य विवाद भएको तर कर्मचारीमाथि हातापात नगरेको उनीहरुको भनाइ छ।
गाउँपालिका अध्यक्ष यादवले आफ्नो घर पायक पर्ने गरी वडा नं. ३ स्थित वथनाहामा कार्यालय सार्न प्रयास गरिरहेको र ढिकिलीमा असुरक्षा भएको देखाउन कर्मचारीलाई प्रयोग गरिएको उनले दाबी गरे। यसअघि पटक–पटक कार्यालय सार्ने प्रयास भएपछि स्थानीय वसन्त खंगलगायतका व्यक्तिले उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दर्ता गराएर रोकेको बताउँदै यादवले विवाद देखाएर फेरि कार्यालय सार्ने प्रयास सुरु भएको जिकिर गरे।
गाउँपालालिकाको कार्यालय सार्ने विषय हाल अदालतमा विचाराधीन छ। गाउँपालिकाको तर्फका कानुन व्यवसायी केशव दासका अनुसार वसन्त खंगले २०७५ कात्तिक १२ गते दर्ता गराएको उजुरीमा कात्तिक १९ गते अदालतले अन्तरिम आदेश जारी गरेको छ। कार्य विशेष परिस्थिति तथा अवस्था भएमा बाहेक साविक कार्यालयमै बैठक तथा अन्य कामकाज गर्न अदालतले आदेश जारी गरेपछि कार्यालय सार्ने विषय रोकिएको थियो।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने कर्मचारीमाथि केही युवाहरुले दुर्व्यवहार गरेको विषयमा कार्यालयमा उजुरी परेको र सो विषयमा छानबिन तथा आवश्यक कारबाही गर्न प्रहरीलाई पत्राचार गरिसकेको बताए।