जनकपुरधाम, १८ भदौ। धनुषामा चोर समात्न गएको प्रहरी र स्थानीयबीच झडप भएको छ। सिमावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँमा मंगलबार साँझ झडप हुँदा प्रहरीले हवाई फायरसमेत गरेको छ।
मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका वडा नम्बर ५ मा चोरीको मोटरसाइकल खरीद बिक्री भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकका खटेको प्रहरीले ‘मोटरसाइकल चोर’ भनिएका एक जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। तर, स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेर समातेको व्यक्तिलाई भगाइदिएपछि झडप भएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ। मुखियापट्टी मुसहर्नियाँ भारतसँग सीमा जोडिएको ठाउँ हो। त्यहाँ केही महिनाअघि प्रहरीको हतियारसमेत लुटिएको थियो।