स्याङजा, १८ भदौ। स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, सोही स्थानकी ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महिने बालक पल्सन परियार रहेका छन्।
उक्त घटनामा केही घाइते भएका छन्। उनीहरूको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो। उक्त जीपमा तीज मनाएर घर फर्कंदै गरेका महिलाहरू सवार रहेको प्रहरीको भनाइ छ। क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। – रासस