‘माया साह्रै महंगो’, ‘मूल हौ भने रसाइदेऊ’, ‘जाली रुमाल’, ‘छोयो मायाले,’ ‘बरिखा’, ‘पातली’, ‘माया त यस्तो होस्’, ‘गुडेको रेल’, ‘जमिन मुनि बदाम फल्यो’लगायतका दर्जनौँ सफल गीत गाइसकेका सुगम सगीतका ख्यातीप्राप्त गायक हेमन्त शर्मा यसपटक लोक दोहोरी गीत लिएर दर्शक स्रोतमाझ प्रस्तुत भएका छन्।
चर्चित गायिका विष्णु माझीसँग उनले ‘वनमारा’ बोलको लोक दोहोरी गीत गाएका हुन्। याम थापामगरको शब्द तथा लय संकलनमा रहेको उक्त गीतमा माया प्रीतिका शब्द मौलिक भाखामा प्रस्तुत गरिएको छ।
बहिनीले भेना भन्छिन् तिम्लाई वास्ता छैन
मन परे’सी पर्यो पर्यो छाड्ने खाले हैन वनमाराले
वनमार्यो वनमाराले ए माया मन मार्यो मनमाराले
त्यसो त हेमन्त शर्माका प्रायः सबै गीतमा लोक धुन भेटिन्छ। लोक आधुनिक शैलीका गीत गाउँदै आएकोले पनि उनले लोक दोहोरी गीतलाई न्याय दिएरै गाउन सकेका छन्। यो गीतसँगै हेमन्त शर्मा सुगम संगीतमा मात्रै सिमित रहेनन्। अब उनी लोक दोहोरी गायकको रूपमा समेत चिनिने भएका छन्।
तर, सुगम संगीतले राम्रै फलिफाप भएका गायक शर्माको लोक दोहोरी गीतलाई दर्शक स्रोताले कत्तिको मन पराउँछन् भन्ने विषयमा हेर्न बाँकी नै छ। किनकि बिहीबार मात्रै सार्थक डिजिटलको युट्यब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
उक्त गीतको भिडियोमा भने पुष्प खड्का र मरिस्का पोखरेलले कम्मर मर्काएका छन् भने गायक शर्मालाई पनि भिडियोमा देख्न सकिन्छ। शिव विकको निर्देशनमा नवराज उप्रेतीले क्यामेरा चलाएका छन्।
युट्यबमा सार्वजनिक गरेको १६ घण्टामा करिब १३ हजार दर्शकले ‘वनमारा’ हेरिसकेका छन्। गायक शर्माले भने फरक यसपटक फरक खालको गीत गाएकोले प्रतिक्रिया दिन दर्शक स्रोतसँग अपिलसमेत गरेका छन्। (भिडियो हेर्नुहोस्:)