चितवन, २३ भदौ। कालिका एफएम प्रालिले संस्थाको १७औँ वार्षिकोत्सव मनाउने तयारी तीव्र पारेको छ। ‘आवाजविहीनहरूको आवाज’ बनेर २०५९ सालमा चितवनबाट प्रशारण थालेको एफएमले सोमबार पत्रकार सम्मेलन गरेर वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ।
विगतका वर्षहरूमा आयोजना गर्दै आएको कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने योजना रहेको कालिका मिडियाका अध्यक्ष एवम् पूर्व वन तथा भूमिसुधार मन्त्री बिक्रम पाण्डेले जानकारी दिए। राजधानी बाहिर हुने म्युजिक अर्वाड र सांस्कृतिक कार्यक्रम वार्षिकोत्सवको सबैभन्दा आकर्षण र महत्त्वपूर्ण कार्यक्रम हो।
अध्यक्ष पाण्डेका अनुसार म्युजिक अवार्डको लागि योवर्ष पनि राष्ट्रिय तथा स्थानीय स्तरका सर्जक तथा कलाकारहरूको लागि ३० वटा विधामा गीतसंगीतलाई नोमिनेशनमा राखिनेछ। असोज १ गतेदेखि सुरू हुने वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन देवघाटमा रहेका वृद्धवृद्धालाई सम्मान गर्ने, स्वास्थ्य परीक्षण गराउने र खाना खुवाउने कार्यक्रम रहेको उनले बताए।
यस्तै असोज ३, ४ र ५ गते शिक्षक तथा प्राध्यापकहरूबीच फुटसल प्रतियोगिता, असोज ७ गते अन्तरसहकारी महिलाहरूबीच हाजिरीजवाफ प्रतियोगिता, असोज ९ गते अन्तर कृषक समूह हाजिरीजवाफ प्रतियोगिता, असोज ११ गते स्रष्टा, सिर्जना र संवाद, असोज १३ गते पञ्चेबाजा तथा सारङ्गी बाजा प्रतियोगिता, असोज १४ गते महिला हिंसा तथा चेलीबेटी बेचबिखन विरूद्ध सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम, असोज १५ गते बृहत् लोकदोहोरी तथा विविध सांस्कृतिक महोत्सव, असोज १६ गते लागूऔषध प्रयोगकर्ताको अवस्था र यसको न्यूनीकरण विषयक अन्तरक्रिया गर्ने र असोज १७ गते अन्तर कर्मचारीबीच खेलकुद प्रतियोगिता गर्ने कार्यक्रम रहेको एफएमले जनाएको छ।
यस्तै असोज २६ गते कालिका एफएम स्थापनाको १७औँ वार्षिकोत्सवको अवसरमा दिपावली कार्यक्रम गर्ने र असोज ३० गते १५औँ कालिका म्युजिक अवार्ड तथा वार्षिकोत्सव कार्यक्रमलाई औपचारिक समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले जानकारी दिए।
कालिका एफएम प्रालिले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट निरन्तर गीतसंगीत प्रशारण गर्दै आएको छ भने विगत केहीवर्षदेखि एकता, शान्ति र संस्कारको संवाहकको नारा घन्काउँदै विगत ५ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ भने कालिका न्युज डटकमको रूपमा डिजिटल पत्रिकासमेत प्रकाशन गर्दै आइरहेको छ।