चितवन, २५ भदौ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखाले मंगलबारदेखि सहुलियत दरको सुपथ मूल्यको बिक्री कक्ष स्थापना गरेको छ । दसैँ तिहार र छठ जस्ता महत्त्वपूर्ण पर्वमा सेवाग्राहीलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यका साथ सिमित समयको लागि बिक्री कक्ष स्थापना गरिएको हो।
आउँदो कात्तिक १७ गतेसम्म सञ्चालन हुने सुपथ मूल्यको बिक्री कक्षबाट बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न सामाग्री खरिद गर्न सकिने कार्यालय प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए। बिक्री कक्षबाट हरेक दिन बिहान सवा १० बजेदेखि साँझ साढे ४ बजेसम्म बिक्री वितरण हुने उनले बताए।
चिनीबाहेकका अन्य सामान किन्नको लागि मात्रा तोकेको छैन। चिनीमा भने व्यापारीहरूले सस्तोमा लगेर महंगोमा बेच्न सक्ने हुँदा प्रतिव्यक्ति एकपटकमा बढीमा ६ किलोसम्म मात्रै खरिद गर्न पाइने व्यवस्था मिलाइएको उनले बताए।
उपभोक्ताले नुन, चामल, दाल, गेडागुडी, चियापत्ती, तेल, पिठो, मसलालगायतका खाद्यवस्तु खरिद गर्न पाउनेछन्। साल्ट ट्रेडिङले बिक्री गर्ने सबै सामाग्री बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गरिएको प्रमुख दाहालको भनाइ छ।
बिक्री कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सरकारले गरेको यस्तो कार्यक्रमले उपभोक्तालाई राहत हुने विश्वास दिलाए। चाडबाडको समयमा बजारमा व्यापारीले मनलाग्दी मूल्य लिएका समाचारहरू हरेक वर्ष बाहिरिने हुँदा सेवाग्राहीलाई चर्को मूल्यको मर्का नपरोस् भनेर सरकारले नै सहुलियत दरमा सामान बिक्री गर्दै आएको उनको भनाइ छ।
सहुलियत दरको मूल्यसूची
चिनी प्रतिकेजी रू.७२
आयोनुन प्रतिकेजी रू. १८
सफ सन्फ्लावर तेल प्रतिलिटर रू. १४८
घरेलु तोरीको तेल प्रतिलिटर रू २००
चामल (मंगलम/रेड चिल्ली) २५ केजीको बोरा रू. १६५०
माइतीघर चामल २५ केजी बोरा रू. १५३५
भान्छाघर झुरूम चिउरा प्रतिकेजी रू. ८०
मिक्स दाल प्रतिकेजी रू. ८५ देखि १५०
सेतो केराउ प्रतिकेजी रू ७०
हरियो केराउ प्रतिकेजी रू ८०
चना प्रतिकेजी रू. १००
मकै प्रतिकेजी रू. ९०
उत्तम चिया प्रतिकेजी रू. १८५
वेलकम चिया ५०० ग्राम रू. १८०
मिक्स मसला ५०० ग्राम रू. १९५
गतवर्ष करिब २६ लाख कारोबार
साल्ट ट्रेडिङको कारोबार अन्य समयभन्दा यो समयमा बढी हुने गर्दछ। खरिद बिक्रीको निश्चित लक्ष्य नरहे पनि बजारको मूल्यभन्दा कम मूल्यमा सामान किन्न पाउने हुँदा साल्ट ट्रेडिङको सामान धेरैले खरिद गर्ने हुँदा दसैँ तिहारको समयमा बढी बिक्री हुने गरेको कार्यालय प्रमुख दाहालले बताए।
चितवनमा गतवर्ष असोज १२ देखि कात्तिक २७ गतेसम्म सुपथ मूल्यको बिक्री कक्ष स्थापना गरेको थियो। डेढ महिनाको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नारायणगढ शाखाबाट मात्रै १९ हजार ९६८ किलो चिनी र ३९ हजार ५८७ किलो नुन बिक्री भएको थियो।
कार्यालय प्रमुख दाहालका अनुसार उक्त अवधिमा चिनीबाट १३ लाख ३८ हजार १९६ रूपैयाँ, नुनको बिक्रीबाट सात लाख १२ हजार ५६६ रूपैयाँ र अन्य सामाग्रीको बिक्रीबाट २५ लाख ९७ हजार २६९ गरी ४६ लाख ६८ हजार ३१ रूपैयाँ कारोबार भएको थियो।