चितवन, ०२ असोज। त्यसै पनि ओझेलमा रहेको चितवनको इच्छाकामना मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको छ। तर, ऐतिहासिक धार्मिकस्थलको पुनःनिर्माणका लागि आर्थिक अभाव हुँदा पुनर्निर्माणले गति लिन सकेको छैन।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मन्दिरको पुनःनिर्माणका लागि करिब तीन करोड २५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। अहिले प्रदेश नं ३ सरकारबाट प्राप्त ५० लाख रूपैयाँले ढोकासम्म राख्ने काम भएको छ। गत आइतबार मन्दिरमा ढोका राखिएको हो।
इच्छाकामना गाउँपालिका–५ मा रहेको मन्दिरको पुनर्निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि आर्थिक स्रोत जुटाउन नसक्दा समयमा मन्दिर निर्माण सक्ने सम्भावना पर सर्दै गएको छ।
मन्दिर निर्माणको लागि इच्छाकामना गाउँपालिकाले ८० लाख रूपैयाँ सहयोग गर्ने आश्वासन दिएको छ। यसबाहेक अन्य आर्थिक स्रोत नभएको अध्यक्ष बोहोराले बताए। मन्दिर पुनःनिर्माणका लागि सम्पूर्ण श्रद्धालु भक्तजन तथा सहयोगी मनहरुलाई समेत आग्रह गरिएको उनले बताए।
गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामा माताको मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ।
मनकामनामाईको सात दिदीबहिनी मध्ये इच्छाकामनालाई एक बहिनीको रूपमा मानिँदै आएको छ। मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालियो भन्नेबारे एकीन छैन।
तर, धेरै वर्षअघि उनका पुर्खाले गाईबाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न सुरु गरेका थिए। त्यसपछि गाईबाख्रा हराउन छाड्यो। अन्य गाउँलेले पनि पूजा गर्न थाले। त्यसपछि धार्मिक आस्था हुनेहरूले मन्दिरमा नियमित पूजाआजा गर्दै आएका छन्।
प्रत्येक वर्ष पञ्चमीमा मेला
प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ। मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ। घण्ट र त्रिशूल पनि चढाउने गरिन्छ।
मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन्। रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गर्ने चलन छ। इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा छ। वरपर जङ्गल र फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ।
इच्छाकामनाबाट मौसम सफा हुँदा मनास्लु, गणेश, माछापुच्छे«लगायतका हिमशृङ्खला पनि प्रस्टै देख्न सकिन्छ। मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पुजारी गुरुङले बताए।
मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको स्थानीय होटल व्यवसायी ज्ञानबहादुर गुरुङ बताउँछन्। –रासस