चितवन, ०५ असोज। पछिल्लो दुईमहिनायता चितवन जिल्ला डेंगुले आक्रान्त बनेको छ। डेंगु संक्रमित जिल्लाहरूमा देशभरबाट चितवन जिल्ला नै पहिलो नम्बरमा आउँछ। डेंगुले महामारीकै रूप लिने स्थिति सिर्जना भएपछि स्वास्थ्य कार्यालय चितवन, स्थानीय सरकार, टोल विकास संस्थालगायतका विभिन्न संघसंस्थाले यसको नियन्त्रणमा जुटेका छन्।
यही क्रममा शनिबार नेवा पत्रकार राष्ट्रिय दबूः चितवन, इम्पल्स इजुकेशन कन्सल्टेन्सी, लियो क्लब अफ गैंडाकोट मौलाकालिका, सिएमसी बिपीएच समूहलगायतका संघसंस्थाको सहकार्यमा शनिबार चितवन र नवलपुरका विभिन्न क्षेत्रमा डेंगु नियन्त्रण तथा यसबाट बच्ने उपायबारे सडक नाटक तथा पोस्टरावलोकन गरेर सचेतना फैलाएका छन्।
गैंडाकोटको कांग्रेसचोकबाट सुरू भएको सडक नाटक तथा पोष्टरावलोकनमार्फत नारायणगढ, गीतानगरसहित भरतपुरका विभिन्न क्षेत्रलाई परिक्रमा गरेको थियो। गैंडाकोटबाट सुरू गरेको कार्यक्रम भरतपुरको गणेशस्थानमा पुगेर समापन गरिएको नेवा पत्रकार राष्ट्रिय दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठले जानकारी दिए।
डेंगुलाई महामरीको रूपमा फैलिन नदिन जनस्तरबाटै चेतनास्तर वृद्धि गराउन आवश्यक रहेकोले विभिन्न क्षेत्रमा कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। समयमै सजग भई लामखुट्टेको टोकाईबाट बच्न सके डेंगुबाट सहजै बच्न सकिने हुँदा लामखुट्टेको टोकाईबाट बच्न लामा कपडा लगाउन र सुत्ने बेला झूलको प्रयोग अनिवार्य गर्न पनि उनले सुझाव दिए।
चितवन जिल्लामा गत साउनदेखि असोज १ गतेसम्ममा ८ हजार दुईसय २१ को परीक्षणमा दुई हजार पाँच सय १५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए। उनका अनुसार अघिल्लो दुईमहिनाको तुलनामा असोज लागेपछि डेंगुका बिरामी कम हुँदै गएको छ।